काठमाडौं, १७ वैशाख – नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको बताए ।
२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।









