images
images

०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि समेट्न उनले माग गरेका हुन्।

भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको दाहालको टिप्पणी छ।

उनले यो सरकार गठन भएपछि भ्रष्टाचारीहरूलाई जोगाउन सत्ताको दोहन गरेको आरोप लगाए।

प्रचण्डले भने, ‘जनतामा चरम निराशा छाउनुको एउटा प्रमुख कारण यही बन्यो। सरकार गठनसँगै एकपछि अर्को फाइलहरू बन्द गरियो। त्रिविको जग्गा प्रकरणको फाइल त गायव नै भएको सुनिएको छ।’

उनले सरकारलाई सुशासनको पक्षमा रहेको प्रमाणित गर्न चुनौती दिएका छन्।