images
images
images

इजरायल सरकारद्वारा गाजा नियन्त्रण प्रस्तावलाई अनुमति

इजरायल, २३ बैशाख – इजरायलको रक्षा मन्त्रालयले गाजालाई पूर्ण नियन्त्रणमा लिनुका साथै हमासको विरुद्धमा फराकिलो आक्रमण गर्ने योजनालाई पारित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई नास गर्नका लागि ठुलो शक्ति परिचालन गर्नुका साथै सबै बन्दी रिहा गर्ने तथा गाजाका २१ लाख जनतालाई अन्यत्र सार्न प्रयास गर्ने जनाएका छन् ।

 

 

क्याबिनेटले निजी कम्पनीमार्फत राहत वितरण गर्नेसमेत जनाएको छ । दुई महिनादेखि राहत वितरणमा अवरुद्ध भएका कारण गाजामा धेरै जना कुपोषणको सिकार भएको राष्ट्र संघले बताएको छ ।

राष्ट्र सङ्घ र अन्य निकायले यो प्रस्ताव सामान्य चलिआएको मानवीय संवेदनासँग विरोधाभास पूर्ण भएको बताउँदै यसलाई स्वीकार नगर्ने जनाएका छन् । हमासले पनि इजरायलले ब्ल्याक मेल गरेको भन्दै यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ खाद्यान्नका लागि सहयोगलाई निरन्तरता दिने बताए । बेलायतले भने गाजालाई फराकिलो रूपमा कब्जामा दिने इजरायली योजनालाई समर्थन नगर्ने बताएको छ । युरोपेली युनियनले यस कार्यले गाजाका बासिन्दा अझ ठुलो संकटमा पर्नसक्ने चेतावनी दिएको छ ।

 

आइतबार क्याबिनेट बैठकमा इजरायली सेना प्रमुख आयल जामिरले हमासलाई परास्त गर्नका लागि प्रस्ताव राखेका थिए । सो प्रस्ताव पारित भएको हो । इजरायली योजनामा त्यो क्षेत्र नियन्त्रणमा लिने, गाजाका बासिन्दालाई यसको दक्षिणमा हटाउने, हमासलाई राहत वितरणमा रोक लगाउने तथा त्यस क्षेत्रमा हमासलाई प्रवेश गर्न पूर्ण रूपमा रोक लगाउने विषय छन् ।

यो योजना तयार भए पनि १३ देखि १६ मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस क्षेत्रमा भ्रमण नभएसम्म लागु हुने छैन । हमासलाई नयाँ युद्ध विरामको प्रस्ताव स्वीकार गर्नका लागि वातावरण पनि त्यसै भ्रमणले तयार गर्न सक्ने जनाइएको छ । मध्यपूर्व भ्रमणको क्रममा ट्रम्प, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा कतार पुग्ने छन् ।