तस्बिरः किरणराज विष्ट/रासस
पाटन (ललितपुर), वैशाख २७ गते – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताउनुभयो । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा शनिबार आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्छ भन्नुभयो ।
परराष्ट्रमन्त्रीले लोकतन्त्रमा बहस, आलोचना र भिन्न दृष्टिकोणलाई आत्मसात् गरिने भएकाले बहुलवादलाई पक्षपोषण गर्ने स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरण सिर्जनालाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।









