images
images
images

अमेरिका-चीन आसन्न व्यापार वार्ता : ट्रम्पको दाबीजस्तै शक्तिशाली देखिँदैन ट्यारिफ नीति

काठमाडौं -अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता अघि हाल चीनमाथि लगाइएको उच्च भन्सार महसुलमा तत्काल कुनै कटौती नहुने स्पष्ट पारेका छन्। उनले सहमति नभएसम्म महसुल घटाउने कुनै योजना नभएको बताएका हुन्।

अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा यही शनिबार व्यापार वार्ता गर्ने तय भएको छ। सो वार्तालाई सकारात्मक बनाउन अमेरिकी पक्षले महसुल दर घटाउने तयारी गरिरहेको भन्ने अड्कलबाजी बीच ट्रम्पको अभिव्यक्ति आएको हो। पत्रकारद्वारा सोधिएको प्रश्नमा ट्रम्पले स्पष्ट रूपमा महसुल दर घटाउने विचार नरहेको बताएका हुन्।

उनले भने, ‘कुनै समयमा म महसुल कम गर्न सक्छु, तर अहिले होइन। उनीहरूसँग व्यापार गर्न सकिँदैन, तर उनीहरू व्यापार गर्न चाहन्छन्। ‘ उनले पछिल्ला दिनमा चीनमा देखिएका आर्थिक चुनौतीहरूको उल्लेख गर्दै अमेरिकाले लगाएको भन्सार दरका कारण त्यहाँको उत्पादनमा असर परेको दाबी गरे।

चीनको वाणिज्य मन्त्रालयले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–चीन व्यापार वार्ताको सम्भावनाबारे मूल्यांकन भइरहेको जनाएको थियो। अमेरिकाले चीनसँग वार्ताको पहल गरेको भन्ने दाबीलाई ट्रम्पले खण्डन गर्दै ती व्यक्तिहरूलाई फाइलहरू फर्केर अध्ययन गर्नू सुझाव दिएका छन्।

हाल ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुहरूमा लगाइएको भन्सार महसुल १४५ % पुगेको छ भने चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ % सम्म महसुल लगाएको छ। दुबै देशले पटक–पटक जबाफी कदम चालिरहेका छन्। यसले व्यापार युद्ध थप चर्किएको विश्लेषण गरिन्छ।

अमेरिकाका प्रमुख खुद्रा विक्रेताहरू वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले ट्रम्पसँगको भेटमा व्यापार युद्धले उपभोग्य वस्तुको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा गम्भीर असर पार्न सक्ने बताएका थिए। त्यसपछि ट्रम्पले केही महसुल दरमा कटौतीको संकेत दिएका थिए। तर पछिल्लो अभिव्यक्तिले तत्काल महसुल कटौतीको सम्भावना टाढिएको देखिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)