images
images
images

बंगलादेशमा शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध

एजेन्सी –बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका हुन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐनअन्तर्गत पार्टीका अनलाइन र अन्य गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए ।

गत जुलाई–अगस्टमा भएको सरकारविरोधी विद्रोहमा सयौँ विद्यार्थी र प्रदर्शनकारीको मृत्यु भएको थियो । सो प्रदर्शनलाई लिएर अवामी लिग र त्यसका नेतालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मुद्दा चलाउँदासम्म यो प्रतिबन्ध कायम रहने उल्लेख गरिएको छ । नजरुलले भने, ‘यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, जुलाई आन्दोलनका कार्यकर्ता, र न्यायाधिकरणका वादी–साक्षीको सुरक्षाका लागि हो ।’

विशेष मन्त्रिपरिषद् बैठकपछि नजरुलले सञ्चारकर्मीसँग हसिनाविरोधी प्रदर्शनका हत्यामा संलग्न कुनै पनि दलमाथि मुद्दा चलाउन सकिने गरी कानून संशोधन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सरकारी सूचना चाँडै विस्तृत रूपमा प्रकाशित हुनेछ ।

हसिनालाई गत वर्ष अपदस्थ गरेपछि उनीसँगै उनको पार्टीका धेरै वरिष्ठ नेताहरूमाथि हत्याका कैयौँ मुद्दा लगाइएको छ । हसिना अगस्ट ५ देखि भारतमा निर्वासनमा छिन् । प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी भारतमा शरण लिन पुगेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी प्रतिवेदनले हसिनाविरोधी प्रदर्शनमा तीन हप्तामा एक हजार चार सय जनाको मृत्यु भएको अनुमान गरेको थियो ।

शनिबार रातिको निर्णय विद्यार्थीहरूको नवगठित राष्ट्रिय नागरिक पार्टी (एनसीपी) सहित हजारौँ प्रदर्शनकारीले ढाकामा अवामी लिगमाथि प्रतिबन्धको माग राख्दै अल्टिमेटम दिएपछि आएको हो । विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले हसिनाको १५ वर्षे शासन अन्त्य गरेको थियो । त्यसपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका हुन् ।