images
images
images

गभर्नर नियुक्तिका लागि काँग्रेसको नयाँ प्रस्ताव: पौडेलको नाम सिफारिस समितिमा समावेश

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ मोड आएको छ। सत्तारूढ नेपाली कांग्रेसले गभर्नर सिफारिसका लागि गठन गरिएको समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलको नाम अघि सारेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा लगायतको उपस्थिति थियो।

यसअघि, देउवा र ओलीबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। त्यसैअनुसार भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले उक्त राजीनामा स्वीकृत नगरेपछि सहमति कार्यान्वयनमा रोक लागेको थियो।

नयाँ विकल्पका रूपमा कांग्रेसले विश्व पौडेललाई अघि सारेको छ। तर, गभर्नर बन्नुअघि पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनुपर्ने छ। त्यसपछि मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वकृत भएपछि उनको स्थानमा नयाँ सदस्य नियुक्त हुनेछन् ।