images
images

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

काठमाडौँ- उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पौड्यालले मिति २०५१ साल वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्म सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ।

आयोगका अनुसार सो अवधिमा पौड्यालले आर्जन गरेको तलबी पारिश्रमिक, बैठक भत्ता, निज तथा परिवारको नाममा रहेको जग्गा बिक्री आय, विमा परिपक्व आय, लाभांश, ऋण कर्जा आय, औषधि उपचार आय, कृषि आय लगायत कुल वैद्य आय रकम दुई करोड ५८ लाख ९७ हजार ३२४ रुपियाँ छ।

यसैगरी, सो अवधिमा निजको घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्ट प्रा।लि।मा लगानी, सवारी साधन खरिद, शेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, विमा प्रिमियम भुक्तानी र बैंङ्क मौज्दात गरी वैद्य कुल व्यय ६ करोड २२ लाख १८ हजार ५३२ रुपियाँ देखिएको छ।

निजको कुल व्ययमा कुल आय घटाउँदा तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन देखिएकोले सो रकम बिगो कायम गरि सो मूल्य बराबरको सम्पत्ति जफत गरि पाउन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र सोबाट बढाएको सम्पत्ति समेत श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएकोले प्रचलित कानुन बमोजिम श्रीमती पौड्याललाई प्रतिवादी कायम गरि आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।