images
images

राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए ।

बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।

यस अवसरमा आजै अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्ति लिएर शोभायात्रा पनि गराइने तयारी भएको छ । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले बताए । भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको असीमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु¥याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू, नमो बुद्धलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।