images
images

शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा

काठमाडौँ –राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारेका हुन्।

‘आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन,बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छाैँ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं, राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’,उनले भने।

उनले आन्दोलनबारे पछिल्लो समय भ्रम सिर्जना गराउन खोजिएपनि चिर्दै अघि बढ्ने बताए। ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुन्छ’, थापाको भनाइ छ।