काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ।
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु ३३ अर्ब ७१ करोड १७ लाख रहेको छ।यो कुल बेरुजुको ७०.६१ प्रतिशत हो ।
त्यसो त लेखा परीक्षणको रकम समेत यसै मन्त्रालयमा धेरै थियो। अर्थको असुल गर्नुपर्ने १२ अर्ब ९१ करोड, नियमित गर्नुपर्ने २० अर्ब ७९ करोड र पेश्की बाँकी १० लाख रुपैयाँ बेरुजु देखिएको छ।

त्यस्तै, सबैभन्दा बढी बेरुजु रहेको मन्त्रालयको दोस्रो नम्बरमा भौतिक तथा पूर्वाधार यातायात मन्त्रालय रहेको छ। यस मन्त्रालयको बेरुजु १३.४८ प्रतिशत रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ६ अर्ब ४३ करोड ६४ लाख रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक रक्षा मन्त्रालयको १ अर्ब ६७ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको १ अर्ब ५० करोड, परराष्ट्रको १ अर्ब ५ करोड, ऊर्जा, जलस्रोत तथा सिँचाइको ६५ करोड ८० लाख रुपैयाँ बेरुजु देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.८७ प्रतिशत बेरुजु देखिएको छ।




लाल्टिन खबर 






