images
images

सपना, संघर्ष र यथार्थ: चिन्तनले पुनर्जीवित गर्दैछ पालुङटार

गोरखा, २ जेठ – पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले नेतृत्व सम्हालेको तीन वर्ष पूरा भएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका चिन्तनले २०७९ को चुनावमा सोही हारको स्वाद चखाएका प्रतिस्पर्धीलाई पराजित गर्दै विजय हासिल गरे। तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य रहेका चिन्तन हाल वैकल्पिक केन्द्रीय सदस्यको भूमिकामा छन्।

पहिलो कार्यकालमा अनुभवको अभाव, कर्मचारीको कमी, र भौतिक पूर्वाधारको न्यूनता जस्ता चुनौतीबीच पालुङटार नगरको जग हालिएको थियो। त्यही नगरको नेतृत्व लिनुअघि चिन्तनमाथि अनेक प्रश्नहरू उठे—इन्जिनियरसमेत रहेका दीपक बाबु कँडेलको नेतृत्वमा रहेको पालिका अब कसरी अघि बढ्ला?

 

त्यसपछि पनि थुप्रै चुनौतीहरू चिन्तनको मार्गमा रहे। पालिका भित्रका ४, ५ लगायतका वडाका सडकहरू बजेट अभावका कारण अलपत्र थिए। खोप्लाङदेखि नगर कार्यालयसम्मको मध्यपहाडी राजमार्ग वर्षौं अलपत्र रह्यो। वन सम्बन्धी विवादका कारण २०७७ मा ठेक्का लागेपनि निर्माण अघि बढ्न सकेन। कोभिड-१९ महामारीका कारण झन् अवस्थिति जटिल बन्यो।

 

२०५४ देखि माओवादी आन्दोलनमा कमान्डरका रूपमा सक्रिय चिन्तनले पालुङटारको नेतृत्व सम्हालेपछि प्रारम्भिक चुनौतीहरू पहिचान गरे। नगरका अधिकांश सडकहरूको डीपीआर तयार भए पनि बजेट अभावका कारण कार्यान्वयन अप्ठ्यारो थियो। बाबुराम भट्टराईको गृह पालिकाका रूपमा चिनिने पालुङटारप्रति जनअपेक्षा उच्च थियो।

एक समय ‘स्मार्ट सिटी’ को अवधारणाले चर्चा पाएको पालुङटार त्यस अवधारणाबाट झन् अस्तव्यस्त बन्यो। भौतिक पूर्वाधार नबन्नु र योजना अधुरै रहनुले आलोचना थपियो। च्याङ्लीमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र र बन्द भएको पालुङटार विमानस्थल पनि लामो समय अलपत्र रहँदा विकासको गतिमा अवरोध आयो।

 

तर, परिवर्तन सम्भव छ भन्ने दृष्टिकोणले चिन्तन अघि बढे। उनकै कार्यकालमा पालुङटारले दुग्ध र मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्यो, जसअनुसार हाल दैनिक १,३०० लिटर दूध निर्यात हुँदैछ। दुईवटा कोल्डस्टोर निर्माण भइरहेका छन्, जसमा एउटा (३५० मेट्रिक टन) सम्पन्न भइसकेको छ भने अर्को (१६० मेट्रिक टन) अन्तिम चरणमा छ।

 

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्थानीयस्तरमै आत्मनिर्भर बनाउने उद्देश्यले सुरक्षित आप्रवासन कार्यक्रम लागू गरिएको छ। हाल पालुङटारमा ६२० किलोमिटर सडक सञ्जाल छ, जसमा हालसम्म ३१ किलोमिटर सडक पिच, ४ किलोमिटर ढलान, र १४ किलोमिटर मर्मत तथा स्तरोन्नति गरिएको छ। बाँकी सडकमा विभिन्न तहका साझेदारीमा काम भइरहेको छ।

 

प्रदेश सरकारले आँपपिपल अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेपछि अस्पताल प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालनमा आएको छ। नगरपालिकाले चारवटा सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याएको छ। स्मार्ट विद्यालयमा स्टाफ नर्सको व्यवस्था गरिएको छ। वडा नं. २ र ३ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ।

शिक्षा र सामाजिक क्षेत्रमा पनि सक्रियता देखिन्छ। ‘प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम’ तथा ‘अभिभावकविहीन तथा अति विपन्न विद्यार्थी सहायता कार्यक्रम’ अन्तर्गत हालसम्म १२१ जना विद्यार्थी लाभान्वित भएका छन्। महिलाहरूका लागि विभिन्न सिपमूलक तालिम—जस्तै टुना टपरी, साबुन बनाउने, नौमती बाजा, अटो सवारी तालिम आदि सञ्चालन गरिएको छ।

 

हाल देशभर चर्चामा रहेको सहकारी संकट पालुङटारमा पनि प्रभावशाली देखिएको छ। यहाँ सञ्चालित ५८ सहकारीमध्ये १० वटाको दर्ता खारेज गरिएको छ। गम्भीर अनियमितताको गुनासोपछि नगरपालिकाले सहकारी अध्ययन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।

 

शिक्षामा लगानी भए पनि अपेक्षित सुधार नआएपछि नगर शिक्षा समितिको सिफारिसमा अध्ययन कार्यदल गठन गरिएको छ। त्यसको सुझाव अनुसार विद्यालय गाभजोड तथा दरबन्दी मिलानको काम अघि बढाइएको छ।

 

२,२०० भन्दा बढी किसान सूचीकृत भइसकेका छन् र तथ्याङ्क संकलनको काम जारी छ, जसले पारदर्शी अनुदान प्रणाली निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

सामाजिक सुरक्षा भत्ता प्रत्येक टोलसम्म पुगोस् भन्ने उद्देश्यले वितरण प्रणाली सुधारिएको छ। ज्येष्ठ नागरिक लक्षित पाँच वर्षे सामुदायिक सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको छ, जसले स्थानीय जीवनस्तरमा सकारात्मक असर पार्ने विश्वास गरिएको छ।

 

विवश चिन्तनको नेतृत्वमा पालुङटारले सपना, संघर्ष र यथार्थलाई जोड्दै नयाँ यात्राको थालनी गरेको छ। उनको भनाइमा, “चुनौती त धेरै छन्, तर जनताको भरोसाले नै सम्भवको मार्ग बनाइरहेका छौं।