images
images

उपमेयर डंगोलको जोडबलमा प्रशासकीय अधिकृतले सोधे राजु पाण्डेलाई स्पष्टीकरण

काठमाडौं, ६ जेठ – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं २९ चैतमा  उपमेयर सुनिता डंगोलकै नेतृत्वमा हाजिर हुन भनेर महानगर आएका थिए । गुरागाईंले केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो ।

स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्वील लक किन गरेको ? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर पाण्डेलाई प्रश्न गरिएको छ ।

यसबाहेक प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको ? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ? भनि प्रश्न गरिएको छ ।