images
images

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सर्वसम्मत सिफारिस

काठमाडौ, ६ जेठ – चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सर्वसम्मत सिफारिस गरिएको छ।

मंगलवार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले ७ वटै पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाको सहभागितामा यो सिफारिस गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार, नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने चितवनलाई बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा “पर्यटकीय राजधानी” को रूपमा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुहरूको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि यहाँ वर्षेनी हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने गर्छन्। प्रदेश सरकारले तोकेको १०० पर्यटकीय गन्तव्यमध्ये ‘बिस हजार ताल’, ‘पटिहानी’, र ‘सोमेश्वर गढी’ सूचीकृत छन् भने “एक जिल्ला, एक उत्कृष्ट गन्तव्य” अन्तर्गत ‘मेघौली’ चितवनमै पर्छ।

पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार, चितवनमा प्रकृति, संस्कृति, धर्म र साहसिक पर्यटकीय गन्तव्यहरू प्रशस्त छन्। साथमा, सहज पहुँच, पर्याप्त आवास सुविधा, सूचना केन्द्र तथा पूर्वाधारहरूको उपस्थिति भएकाले चितवन पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त स्थान हो।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुङ्गनाले जिल्लाको पर्यटन निकुञ्जमा केन्द्रित भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

भरतपुर भ्रमण वर्ष २०२४ जस्ता प्रवर्द्धनात्मक अभियानहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै जिल्ला समन्वय समिति प्रमुख अधिकारीले राजधानी घोषणाले चितवनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

पर्यटन विज्ञ सुवेदीका अनुसार, चितवनको पर्यटन क्षेत्रमा हालसम्म ५० अर्बभन्दा बढी लगानी भइसकेको छ। जिल्लामा करिब १५ हजारको बेड क्षमता रहेको र ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू रहेका उनले जानकारी दिए।