images
images

संवैधानिक परिषद्ले आज किन सिफारिस गरेन नयाँ प्रधानन्यायाधीश?

झन्डै दुई घन्टा चलेको संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेन।

पर्सि (साउन १८ गते) बस्नेगरी आजको बैठक स्थगित भएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार अपराह्न बसेको बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची थियो।

तर, बैठकमा संसदीय समितिहरूको सभापतिको समेत प्रसंग उठेपछि आज प्रधानन्यायाधीश सिफारिस नभएको उपसभामुख रानामगरले बताइन्।

‘प्रधानन्यायाधीश सिफारिसको मात्रै प्रस्ताव आएको थियो। तर, बैठकमा विपक्षी दलका नेतालगायत अरू सदस्यहरूले संसदीय समिति र परिषद्ले सिफारिस गर्नुपर्ने तथा रिक्त रहेको महालेखा परीक्षक पनि एकैसाथ सिफारिस गर्नुपर्ने कुरा उठेपछि आज कुनै निर्णय भएन,’ उनले भनिन्।

टंकमणि शर्माको पदावधि जेठ ७ गते सकिएपछि महालेखा परीक्षक सिफारिस भएको छैन। संविधानतः महालेखापरीक्षक रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ महालेखा परीक्षक सिफारिस गर्नुपर्ने प्रावधान छ।

त्यस्तै, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

असार २० गते नै नयाँ प्रधानन्यायाधीश सिफारिस भइसक्नु पर्नेमा संविधानको पालना भएको छैन।

अहिले विश्वम्भर श्रेष्ठ वरिष्ठतम प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन्।

अब १८ गते बस्ने बैठकले प्रधानन्यायाधीशलगायत सिफारिस गर्ने उपसभामुख रानामगरले बताइन्।