काठमाडौं, ९ जेठ – बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सलाहकार मोहम्मद युनुसले राजीनामा दिनबारे विचार गरिरहेको समाचारहरू आएका छन् ।

यस विषयलाई लिएर विद्यार्थी नेता तथा नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुससँग उनको निवास जमुनामा भेटघाट गरेका थिए ।
नाहिद इस्लामले बीबीसीलाई भनेका छन्, ‘हामी देशको वर्तमान अवस्थालाई लिएर सर (युनुस) को राजीनामाको खबर सुनिरहेका थियौँ । देशको वर्तमान स्थितिमा मुख्य सलाहकारले काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।’
इस्लामका अनुसार देशका राजनीतिक दलहरूले अहिले नै राजीनामा मागे युनुस त्यसका लागि तयार छन् ।

युनुसले भने, ‘जसरी आन्दोलन चलिरहेको छ वा जसरी बन्धक बनाइएको छ, म त्यसरी काम गर्न सक्दिनँ ।’
यसअघि, मोहम्मद युनुसले ढाकामा एड्भाइजरी काउन्सिलको बैठकमा देशको हालतमा निराशा व्यक्त गरेका थिए ।
बङ्गलादेश नेशनलिस्ट पार्टीले बिहीबार नै अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद साथै राष्ट्रिय सुरक्षा सलाहकार खलीलुर रहमानको राजीनामा वा बर्खास्तगीको माग गरेको थियो ।










