काठमाडौं, ९ जेठ – शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर वैशाख २१ गते काठमाडौं– १२ र काठमाडौं– १५ मा वैशाख ३० मा सम्पन्न भएको थियो ।
अबको शिविर काठमाडौं– ३१ र २३ मा आयोजना हुने महानगरले जानकारी दिएको छ ।
वैद्य मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।
परीक्षणपछि डाक्टरहरूबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।
कार्यक्रमअन्तर्गत वडाहरूमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्द्धन लगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।

रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको महानगरले जनाएको छ ।











