काठमाडौँ, ९ जेठ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ ।



नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।



कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । बिआइटिएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताउनुभयो । 



कार्यक्रममा नाट्टाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी, बिआइटिएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सिएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्मारिका समेत विमोचनसमेत गरिएको थियो । तीनदिने मार्टमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भुटानलगायतका मुलुकबाट एक सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । रासस