images
images
images

एप्पल र ईयूलाई ट्रम्पको पुन: धम्की, भन्छन्, ‘५० प्रतिशत कर लगाउँछु’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनिन (ईयू) लाइ पुनः कर लगाउने धम्की दिएका छन्।  राष्ट्रपति ट्रम्पले पुनः व्यापार तनाव चर्काएसँगै युरोपको सेयर मार्केटमा गिरावट आएको छ। ट्रम्पले युरोपेली संघबाट अमेरिका पठाइने सम्पूर्ण सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

साथै उनले अमेरिका बाहिर बन्ने आइफोनमा पनि कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले अमेरिकामा उत्पादन नगरिएका आइफोनहरूमा कम्तीमा २५ प्रतिशत आयात कर लगाउने चेतावनी एप्पललाई दिँदै उक्त कर अन्य स्मार्टफोनहरूमा समेत लागू हुन सक्ने जनाएका छन्।

 

युरोपेली संघसँगको व्यापार वार्ताको केही घण्टा अघिनै ट्रम्पको यस्तो चेतावनी आएको हो। ट्रम्पले गत महिना अधिकांश युरोपेली सामानमा २० प्रतिशत भन्सार शुल्कको घोषणा गरेका थिए, तर वार्ताका लागि समय दिन भन्दै उनले जुलाई ८ सम्मका लागि त्यसलाई घटाएर १० प्रतिशतमै सिमित गरेका थिए।

‘ईयू-अमेरिका व्यापारको सम्वन्ध अतुलनीय छ, र यो आपसी सम्मानबाट निर्देशित हुनुपर्छ नकि धम्कीबाट’ युरोपेली संघका व्यापार आयुक्त मारोश शेफचोविचले सामाजिक सञ्जालमा लेखे। ‘हामी आफ्ना हितको रक्षा गर्न तयार छौं।’

ह्वाइट हाउसमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्ता ढिलो भइरहेकोप्रति असन्तोष व्यक्त गर्दै १ जुन देखि भन्सार शुल्क बढाउने योजना तय भइसकेको बताए। उनले भने, ‘म कुनै सम्झौताको खोजीमा छैन,  सम्झौता त हामीले सेट गरिसक्यौं।’

उनले थपे, ‘युरोपेली कम्पनीले अमेरिका भित्र ठूलो लगानी गर्ने हो भने म सोच्न तयार हुन सक्छु। हामी हेर्नेछौं के हुन्छ, तर अहिलेको लागि त जुन १ मा कार्यान्वयन हुँदै छ।’  विश्लेषकहरूका अनुसार ट्रम्पका भनाइहरू व्यवहारमा रूपान्तरण हुन्छन् कि हुँदैनन्  भन्ने कुराहरू भने महत्वपूर्ण रहेको बताए।

युरोपेली रिफर्म केन्द्रका व्यापार विज्ञ अस्लाक बर्गका अनुसार ट्रम्पको अभिव्यक्ति वार्ताको पूर्वसन्ध्यामा दबाब सिर्जना गर्ने रणनीति भएको हुन सक्ने आँकलन गरे। उनले भने, ‘तर वास्तविकता के हो भने, ईयू झुक्नेवाला छैन। उनीहरू शान्त रहनेछन्, प्रक्रियालाई अगाडि बढाउनेछन्, र यो वार्ता निकै कठिन हुने  छ।’

बर्गले थपे, ‘ट्रम्पले भन्सार शुल्कको तनाव पुनः चर्काएर अमेरिकाले भविष्यमा गर्ने अन्य सम्झौताहरूका लागि नराम्रो उदाहरण तयार गरेका छन्। केही समयका लागि यस्तो बुझाइ बनेको थियो कि ट्रम्प केही पछाडि हटिरहेका छन्, अब शान्ति र स्थायित्व आउनेछ। तर यो घटनाले देखाउँछ, वास्तविकता त्यस्तो छैन्।’

सेयर बजार ओरालो

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरे लगतै विश्वभरका देशहरूबाट आउने सामानमा भन्सार शुल्क लगाउने र थप्ने धम्की दिएका थिए। उनका अनुसार यी शुल्कहरूले अमेरिकी उद्योगलाई बढावा दिन्छ र विदेशी प्रतिस्पर्धाबाट रोजगारी जोगाउँ छ।

तर यस्ता घोषणाले विश्वव्यापी चिन्ता निम्त्याएको छ, किनभने यसले विदेशी कम्पनीहरूलाई अमेरिकी बजारमा सामान बेच्न झन् महँगो र जटिल बनाउँछ। अमेरिकामा भित्रै वित्तीय बजारमा उथलपुथल र व्यवसायिक विरोध भएपछि ट्रम्प कतिपय कठोर प्रस्तावहरूबाट पछि हटेका पनि छन्।

शुक्रबार ट्रम्पका पछिल्ला धम्कीपछि अमेरिकी र युरोपेली बजारमा गिरावट आयो। एस एण्डपी ५०० झन्डै ०.७ प्रतिशतले घट्यो भने जर्मनीको डिएएक्स  र फ्रान्सको सिएसी ४०  सूचकांकहरु १.५ प्रतिशतभन्दा बढीले ओरालो लागे।

ट्रम्पले गत महिना स्मार्टफोनजस्ता महत्त्वपूर्ण इलेक्ट्रोनिक्समा भन्सार छुट दिएका कारण राहत पाएको एप्पलको सेयर मूल्य झन्डै ३ प्रतिशतले घट्यो। त्यतिबेला अधिकारीहरूले यो छुट अस्थायी हुने चेतावनी दिएका थिए। शुक्रबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म एप्पललाई लक्षित गरिरहेको छैन, तर सबै स्मार्टफोनमा कर लगाउने योजना बनाइएको हो, जुन जुनको अन्त्य देखि लागू हुन सक्छ।’

इयू भन्छ दबाब सिर्जना गर्ने रणनीति

अमेरिकी राष्ट्रपतिको भनाइ प्रति ईयूले भने रणनितिक प्रतिकृया दिएको छ। अमेरिका कै ठूलो व्यापार साझेदारमध्ये एक रहेको उसले अमेरिकाले दबाब सिर्जना गर्ने उदेश्यले यो घोषणा गरेको बताएको छ। अमेरिकी सरकारी तथ्याङ्क अनुसार, युरोपेली संघले गत वर्ष अमेरिकामा ६०० अर्ब डलरभन्दा बढीको सामान पठाएको थियो भने अमेरिकाबाट ३७० अर्ब डलर बराबरको मात्र सामान खरिद गरेको थियो।

ट्रम्पको गुनासो यही व्यापार असन्तुलनप्रति केन्द्रित छ। उनले युरोपेली नीतिहरू अमेरिकी कम्पनीहरूका लागि अन्यायपूर्ण भएको बताएका छन्, विशेष गरी गाडी र कृषिजन्य उत्पादनसम्बन्धी नीतिमा असन्तुष्टि जनाएका छन्।

गत महिना उनले ईयूबाट आयात हुने केही सामानमा २० प्रतिशत भन्सार शुल्क लगाए। त्यसपछि अमेरिका र विश्वका अन्य देशहरूबीच चर्को वार्ताको लहर चल्यो। सानातिना देशहरूले सम्झौतापूर्ण मार्ग अपनाए पनि ईयू, चीन र क्यानडाले भने कडा प्रतिक्रिया जनाएका छन्। यिनले प्रतिउत्तरस्वरूप अमेरिकी उत्पादनमा आफैंले पनि शुल्क बढाउने चेतावनी दिएका छन्।

शुक्रबार ट्रम्पले फेरी भनेकी ‘ईयू सँग व्यवहार गर्नु अत्यन्तै गाह्रो भएको छ।’ अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको कुराकानीमा इयू यो घोषणापछि दबाबमा पर्ने बताए। उनले भने ‘हामी आशा गर्छौं, यो धम्कीले ईयूमा दबाब सिर्जना गर्ने छ।’

युरोपेली संघका सदस्य राष्ट्रका नेताहरूले ट्रम्पको पछिल्लो धम्कीलाई निराशापूर्ण भनेका छन्। आयरल्यान्डका प्रधानमन्त्री मीकाल मार्टिनले युरोपेली संघले वार्ता गरिरहेको अवस्थामा पुन भन्सार शुल्क लगाएमा दुबै पक्षलाई नोक्सान पुग्ने चेतावनी दिए। उनले भने ‘हामी यस्तो बाटोमा जान आवश्यक छैन।’ उनले भने ‘वार्ता नै एक मात्र दीगो समाधान हो।’

फ्रान्सका विदेशमन्त्री लोरेन्ट सेंट-मार्टिनले सामाजिक सञ्जालमा लेखे ‘हामी हाम्रो पुरानै धारणा दोहोर्याउँदै छौं। तनाव घटाउने प्रयास जारी छ, तर हामी जवाफ दिन तयार छौं।’ उनले थपे ‘दबाबले वार्तालाई ‘निष्कर्ष’ मा पुर्याउँदैन।’

जर्मनीकी अर्थमन्त्री काथेरिना राइखेले आफूहरुलाई कम व्यापार नभइ अझ बढी व्यापार चाहिएको बताए। उनले भनिन् ‘हामीले युरोपेली आयोग र अमेरिकाबीच वार्तामार्फत समाधान खोज्न सक्ने वातावरण बनाउन सक्दो प्रयास गर्नु पर्छ।’

आइफोन अमेरिकामा बन्ने परिकल्पना गर्न सकिन्न

विश्षलेषकहरू ट्रम्पका पछिल्ला नितीहरुले आश्चर्यमा परेको बताएका छन्। शुक्रबार, वेडबश सेक्युरिटीजका विश्लेषक ड्यान आइभ्सले भने, ‘एप्पलले अमेरिका भित्र आइफोन बनाउने कल्पना नै अवास्तविक परिकल्पना हो यो व्यवहारिक नै छैन।’

उनले थपे, ट्रम्पको पछिल्लो आक्रमणका बाबजुद एप्पल यस परिस्थितिको व्यवस्थापन गर्न सक्नेछ भन्ने अपेक्षा छ।’ ट्रम्पले लामो समयदेखि एप्पलमाथि अमेरिकामा उत्पादन गर्न दबाब दिँदै आएका छन्।

ट्रम्पले यसै साता एप्पलका प्रमुख कार्यकारी टिम कुकसँग ह्वाइट हाउसमा भेट गरेका थिए। ट्रम्प एप्पलको भन्सारसम्बन्धी प्रतिक्रिया प्रति असन्तुष्ट देखिएका थिए। यसै महिनाको सुरुमा एप्पलले चीनबाट हटाएर अमेरिकामा बिक्री हुने अधिकांश आइफोन तथा अन्य उपकरण भारत र भियतनामजस्ता देशहरूमा उत्पादन गर्ने योजना बनाएको बताएको थियो।

ट्रम्पले यसअघि भनेका थिए, ‘मलाई मिस्टर कुकसँग अलिकति समस्या छ।’ उनले चेतावनी दिँदै भनेका थिए, ‘म तिमीलाई आइफोन भारतमा उत्पादन हुन्न भन्न चाहन्न। आइफोन अमेरिकामै बनाइनु पर्छ।’