काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले भिजिट भिसामार्फत मानव तस्करी भएको घटनामा गृहमन्त्री लेखकको राजीनामा मागेको हो।
यसअघि गृहमन्त्री लेखकले नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर संसद्मा बोलेको प्रसंगसमेत रास्वपाले स्मरण गराएको छ।
‘सरकारको गृहमन्त्री र उनका सचिवालय नै “भिजिट भिसा” मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले भनेको छ,’विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ।’


लाल्टिन खबर 






