images
images

माओवादीकाे मध्यपहाडी अभियानको पहिलो चरण सम्पन्न

काठमाडौं – नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनअभियान”को पहिलो चरण सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डसहितको पदाधिकारी टोली हिजो शनिवार काठमाडौं फिर्ता भएको हो । यो अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरू भई कास्कीमा सम्पन्न भएको थियो । पहिलो चरणको क्रममा हजारौं जनतासँग प्रत्यक्ष संवाद, सहिद परिवारहरूसँग भेटघाट तथा छलफल, ज्ञापनपत्र संकलन, र विभिन्न जनसमूहसँग जनसंवाद कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको ऐतिहासिक पहलबाट निर्माण भएको स्मरण गराउँदै, यो अभियान माओवादी मात्र नभई राष्ट्रिय अभियान भएको घोषणा गरे । उनले भने, “यो अभियान जनतासँगको आत्मीय संवाद मात्र होइन, राष्ट्रिय रुपान्तरणको महत्वपूर्ण अभियान हो ।”

पहिलो चरणमा देखिएको उत्साहपूर्ण जनसहभागिताले अभियानको प्रभावकारिता पुष्टि गरेको छ । विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा युवादेखि वृद्धसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो । अभियानलाई विभिन्न राजनीतिक दल तथा स्थानीय तहले समेत स्वागत गरेका थिए ।

अब अभियानको दोस्रो चरण जेठ १५ पछि सञ्चालन गरिने भएको छ । दोस्रो चरणमा मध्यपहाडी लोकमार्गसँग प्रत्यक्ष रुपमा जोडिएका बाँकी जिल्लाहरू समेटिनेछन् । यस चरणमा पनि माओवादी केन्द्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

माओवादी केन्द्रले यो अभियानलाई जनभावना बुझ्ने, संगठन सुदृढ गर्ने र राजनीतिक जागरण फैलाउने उद्देश्यसहित सञ्चालन गरेको हो । सहिद परिवारहरूसँगको संवाद, जनताका मुद्दाहरूको पहिचान र स्थानीयस्तरका समस्याहरूको समाधानमा केन्द्रित अभियानलाई दोस्रो चरणमा झनै प्रभावकारी बनाउने तयारी भइरहेको छ ।

पार्टीले जनतालाई पार्टीसँग जोड्ने, आफूलाई रुपान्तरण गर्ने र देशलाई एउटा सन्देश दिने उदेश्यका साथ अभियान सुरु गरेको र अभियान पार्टीले सोचेभन्दा धेरै सफल भएको भन्दै प्रचण्डले अभियान माओवादीको मात्र नभै आमजनताको सँगै सबैको सझा अभियान बनेको माओवादी नेताहरुकाे दाबी छ ।

अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले माओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादी र प्रचण्डमय भएको अनुभव गरेको बताए ।

तराई मधेस हुलाकी मार्ग र मध्य पहाडी मार्ग अभियानका क्रममा आफूलाई भेट गरेका वृद्धवृद्धा, युवायुवती र बालबालिकाले देश एकपटक माओवादीमय बनेको हेर्न चाहेको बताएको उनले बताए । ०६४ मा जसरी देश माओवादीमय भएको थियो त्यस्तै गरि आफूले यसपटक अनुभव गरेको प्रचण्डको भनाइ थियो । ‘जनतालाई बुझाउन सक्यौं भने आउँदो एक वर्षमा देशसिंगै माओवादीमय बन्ने र ०८४ को निर्वाचनमा पार्टी पहिलो नम्बरमा आउने छ,’ उनले भने ।

फरक प्रंसगमा प्रचण्डले देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको र वर्तमान संविधानले देशमा स्थिरता नदिने र आर्थिक समृद्धीलाई अघि नबढाउने भएकाले यसलाई संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । आफूहरूको सुरुदेखिकै अडान प्रत्यक्ष निर्वाचित कार्यकारी हो । तर कांग्रेस र एमालेले नमानेका कारण त्यो पूरा हुन नसकेकोले निर्वाचन प्रणालीलाई पनि संसोधन गर्न आवश्यक रहेको बताएका थिए । देशमा नयाँ संविधान जारी भएको १० वर्ष भएको अब यस्को समीक्षा गर्ने समय आएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा प्रचण्डको जोड थियो ।

अर्को प्रसंगमा प्रचण्डले भष्टाचारी, दलाल पुँजिपतीहरू, सामन्तवादीहरूको षडयन्त्रका कारण आफू नेतृत्वको सरकार ढलेको भन्दै प्रचण्डले अब देशमा सबै एक भएर दलाल पुँजीवादका विरुद्ध, भष्टाचारका विरुद्ध, समाजिक विभेदका विरुद्ध, समाजिक न्यायका विरुद्ध काम गर्न र लड्न आवश्यक रहेकाले यसका लागि तयार हुन पार्टीका नेता कार्यकर्तासँगै अन्य सबैलाई आग्रह गरेका थिए ।

२३ पुस ०८१ मा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग र मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार तराई मधेश हुलाकी मार्ग केन्द्रित अभियान १२ फागुन ०८१ मा झापाबाट सुरु भएर १७ वैशाख ०८२ मा कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

पहिलो अभियान सम्पन्नसँगै पार्टीले २ जेठबाट मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गरेको थियो । दोस्रो चरणको अभियान बैतडीको पाटन नगरपालिकामा निर्माण गरिएको स्मारकको उद्घाटन गरी सुरु गरिएको थियो ।

बैतडीको पाटनबाट सुरु अभियान रुकुमपूर्व, डोटी जिल्लाको दीपायल, अछाम जिल्लाको मंगलसेन, अछामको साँफेबगर, कर्णालीको राकम, दैलेखको कोत गढी, जाजरकोट खलंगा, जाजरकोटको भेरी, रुकुमपूर्व, थबाङ, चौरजाहरी, रुकुम, रोल्पा, म्याग्दीको गलकोट, बागलुङको कुश्मा, बागलुङको ताराखोला, पर्वतको नयाँपुल लगायतका स्थान हुँदै कास्की आएर शनिबार जन सम्वाद कार्यक्रम गरि सम्पन्न भएको हो ।