काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगरप्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष सोमबार सातबुँदे स्पष्टीकरण बुझाएका छन् । अनुशासनहीन व्यवहार, अमर्यादित आचरण र सञ्चारमाध्यममा अनधिकृत बयान दिएको भन्दै जेठ ६ गते गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
पाण्डेले बुझाएको स्पष्टीकरणमा सातमध्ये ६ बुँदामा मेयरको मौखिक आदेश पालना गरेको र बाँकी एक बुँदामा गाडीको सुरक्षाका लागि ह्विललक लगाएको उल्लेख गरेको महानगर स्रोतले जनाएको छ । गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरीले रोक्ने प्रयास गरेको घटनालाई लिएर यो स्पष्टीकरण मागिएको हो ।
स्पष्टीकरणमा पाण्डेले जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गरेको र कर्मचारी आचरण पालना नगरेको आरोपको जवाफ दिएको बताइएको छ ।
सोही दिन उपमेयर सुनिता डंगोलले पनि पाण्डेसँग जवाफ माग्दा उनले मेयरको आदेश पालना गरेको बताएका थिए । सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको थियो ।


लाल्टिन खबर 






