images
images

माओवादी बैठकः ‘पार्टी रुपान्तरण हुन अध्यक्ष आफैँ रुपान्तरण हुनुपर्छ’

काठमाडौँ – माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा पहिलो दिन १८ जनाले धारणा राखेका छन्। पहिलो दिन बोल्न ७४ जनाले नाम टिपाएकोमा १८ जनाले मात्रै बोलेका हुन्।

प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सदस्यहरुलाई वितरण नै नगरी बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका हुन्।

प्रतिवेदन अध्यक्ष दाहालले बैठकम पढेर सुनाए पनि फाइनल नभएको भन्दै केन्द्रीय सदस्यहरुलाई वितरण नगरिएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए। एक हप्त चल्ने बैठकमा लिखित प्रतिवेदन बिहीबार पेश गर्ने तयारी छ।

केन्द्रीय सदस्यहरुले पार्टीलाई रुपान्तरण गर्न ढिलो भइसकको र त्यसको सुरुवात अध्यक्ष प्रचण्डबाटै गर्नुपर्ने धारणा राखेका छन्। प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले छोराछोरीलाई सचिवालयमा राखेको भन्द} अध्यक्ष दाहालसहितका नेताहरुको आलोचना गरे।

पन्तको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टी रुपान्तरण गर्न अध्यक्ष आफैँ रुपान्तरण हुनुपर्छ। नत्र पार्टी बन्दैन। अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुट मच्चाउन सचिवालयमा राखेको हो?’

नेता हिमाल शर्माले पार्टीलाई बद्लिँदो परिस्थितिअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले अध्यक्ष प्रचण्डलाई चुनावमार्फत नेतृत्वमा स्थापित हुन सुझाव दिए। विना प्रतिस्पर्धा ३५ वर्षभन्दा बढी समयदेखि मुख्य नेतृत्वका रुपमा रहेका दाहाललाई अब प्रतिस्पर्धा गर्न शर्माले आग्रह गरेका हुन्। उनले पार्टी निर्माणका लागि अभियान सञ्चालन गरे पनि त्यसको समीक्षा हुन नसकेको भन्दै असन्तुष्टि पोखे।

केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी नेता कार्यकर्ताको जीवन शैलीमाथि प्रश्न उठाए। जीवनशैलीलाई पारदर्शी बनाउन सुझाव दिँदै केसीले २०४६ पछिका भ्रष्टाचारका फाइल खोल्न पार्टी नेतृत्वको सरकारलाई आग्रह गरे। ‘माओवादीबाट सत्तामा गएकाहरूको सम्पत्ति छानबिन गरौँ, उनले भने।

त्यस्तै अर्का केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले अहिलको जनसांख्कीय अवस्थाको लाभ लिने गरी नीति निर्माण बनाउन माग गरे।

विदेश गएकाहरुबाट पैसा मात्रै आउने गरेकोमा अहिले विचार समेत आउन थालेको उल्लेख गर्दै त्यसलाई ध्यान दिएर पार्टीलाई रुपान्तरण गर्न सुझाव दिए। नेपाल विस्तारै बुढापाकाको देशमा बद्लिदै गएको हुँदा युवा पुस्ताबाट फाइदा लिने गरी पार्टी र सरकारले योजना बनाउनुपर्ने बताए।

केन्द्रीय सदस्य कृष्ण चौधरीले अध्यक्ष दाहालको बचाउ गरे। उनले भने, ‘अध्यक्षको गल्ती देख्ने तर आफ्नो गल्ति नदेख्दा पार्टी बिग्रियो। सबैले आफैँतर्फ फर्केर हुर्नुपर्छ। पार्टी बनाउने हो भने एकले अर्कोलाई दोष लगाउने होइन। फिल्डमा खटौँ।’