काठमाडौँ, १३ जेठ – चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उल्लेख भएका बुँदाहरु नै कानून बनेमा अर्थतन्त्रमा संकट आउने बताएका छन्। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै मलहोत्राले केही समयअघि राष्ट्र बैंकले चालु पुँजी कर्जाबारे केही नसोची नियम ल्याउँदा बजारमा उथलपुथल भएको स्मरण गराए ।

त्यसरी नै सरोकारवालाको सुझावविपरित विधेयकको मस्यौदामा भएको नियम लागु भयोभने झनै ठूलो संकट उत्पन्न हुने उनको भनाइ थियो । त्यसैले कुनैपनि हालतमा विना छलफल आर्थिक संकट उत्पन्न हुनेगरी कानून ल्याउन नहुनेमा उनले जोड दिए ।
उनले भने, ‘डिटेल त मैले लिखितमा ल्याएको छु । तरपनि यहाँ छोटो रुपमा भन्न चाहन्छु । मात्र के भन्न चाहान्छु भने चन्द्र ढकालजीले भनेझै उहाँ बैंकर्स भएकै कारण विधेयकमा आफ्नो स्वार्थका लागि केही भन्नुभयो कि भनेर प्रश्न उठ्न सक्छ । तर मेरो आफ्नो व्यक्तिगत कुरा गर्दा मेरो कुनैपनि बैंकमा आज एक प्रतिशत पनि सेयर छैन । र मलाई आज बन्देज पनि लाग्दैन । तर समग्र नेशनको हिसावले आजको समस्याको विषयमा कुरा गर्नुपर्दा चेम्बरको तर्फबाट कुरा गर्नुपर्दा उहाँले राख्नुभएको कुरामा नै मेरोपनि फोकस यसैमा हो । एक प्रतिशतभन्दा बढी शेयर जसको छ उसले कुनैपनि बैंकबाट ऋण लिन नपाउने आफ्नो कम्पनी र अरु कुनै कम्पनीमा नाम छ भने पनि लिन नपाउने भन्ने नियम छ त्यो वास्तवमै डिजास्टर हुन्छ । जसरी केही समय अघि राष्ट्र बैंकले चालु पूँजी कर्जा केही नसोची नियम ल्याउँदा बजार उथल पुथल बनायो । त्यसरी नै यो नियम लागू हुँदा पनि झन धेरै उथल पुथल हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । यसलाई कुनैपनि हालतमा ल्याउन दिनुहुँदैन यही नै प्रमुख कुरा हो ।’

उनले यस प्रकारका संकुचनकारी नीति बनाउँदै जाने हो भने उद्यमशीलता र रोजगारी सिर्जना गर्ने वातावरण नरहने स्पष्ट पारे ।










