images
images

नेपाली भाषा बोलेमा कारबाही गर्ने विद्यालयहरूविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ–काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्। रिटमाथि बुधबार पेसी तोकिएको छ।

विद्यालयहरूले विद्यार्थीलाई विद्यालय परिसरमा नेपाली भाषा बोल्न नदिने, बोलेमा जरिवाना तिराउने, अपमान गर्ने र मानसिक दबाब दिने जस्ता दण्डात्मक क्रियाकलाप गरिरहेकाले मातृभाषामा शिक्षा आर्जन गर्न पाउने विद्यार्थीको संवैधानिक मौलिक हक सुनिश्चित गर्न आवश्यक कदम चाल्न आदेश गरी विपक्षीका नाममा परमादेशको माग निवेदकले गरेका छन्।

विद्यालय परिसरमा नेपाली बोल्न नदिने र मानसिक दबाब दिने कार्य भएपछि अभिभावकहरूले काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा उजुरी समेत दिएका थिए।

उजुरीउपर छानबिन गरी कसूरदार पत्ता लगाउने तथा मुद्दा चलाइ कारबाही गर्नुपर्नेमा महानगरले सामान्य कामचलाउ निर्देशिका जारी गरी पन्छिन खोजेको आरोप निवेदकको छ।