images
images

माओवादी केन्द्रीय समितिको बैठक जारी, दाहालको प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने

काठमाडौं- सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दैछ। बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्नेछ। ‍

केन्द्रीय समिति बैठक बुधबारबाट सुरु भएकाे हाे। हिजाेकाे बैठकमा केन्द्रीय समितिका ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, पार्टीले गरेको १० प्रदेशका पदाधिकारी ९० जना, ३ वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरू सहभागी भएका थिए।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पेस गरेकाे प्रतिवेदनमा नेताहरूले धारणा राख्नेछन्।

हिजाे मौखिक रूपमा सुनेको भरमा दाहालकाे प्रतिवेदनमाथि १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए। आज उक्त प्रतिवेदन लिखित रूपमा वितरण गरिने बताइएकाे छ।

प्रत्येक सदस्यलाई बोल्नका लागि ५ मिनेट समय उपलब्ध गराइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ।

माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको हाे। यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको थिएन।
हिजाेकाे बैठकमा अध्यक्ष दाहालले देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताएका थिए।
माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोध गरेपछि लाइभ नगर्ने निर्णय भएकाे थियो।