काठमाडौँ, १४ जेठ – राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
नेपाल र न्युजिल्याण्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको हाम्रो यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्याण्डबाट हामी सहयोगको अपेक्षा गर्दर्छौँ भने ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र हाम्रो सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो पटक कीर्तिमानी आरोहणले महत्त्वपूर्ण योगदान दिएको विदितै छ भन्दै उनले उक्त आरोहणको ७० औँ वार्षिकोत्सवमा दुवै देशले ‘सगरमाथा–७०’ मनाएकोमा खुसी प्रकट गरे ।
उनले दुवै देशका जनताबीच अन्तरक्रिया एवं सम्बन्ध बढाउन सर एडमन्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रस्टले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले जनस्तरमा सम्बन्ध विस्तारमा सहयोग पुर्याएको छ भने ।
सो अवसरमा न्युजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरूको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

नेपाल न्युजिल्याण्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए । उनले जलवायु परिवर्तनले ल्याएको संकटप्रति आफूहरू सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरुरी रहेको बताए ।










