images
images

मधेशमा निमित्त निमिट्यान्न पारिँदै:२४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवा सुचीअनुसार अधिकांश सङ्घका कर्मचारीलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।

२४ जना उपसचिवमध्ये १८ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने सर्लाही र महोत्तरीका तीन उपसचिव(शिक्षा)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । बाँकी गृह मन्त्रालय अन्तर्गतका तीन जनालाई युवा, रक्षा र योजना आयोगमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालय तथा अन्तर्गतका ८ जना शाखा अधिकृतहरूलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ भने दुई प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयमा र एक इन्जिनियरको पनि खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

विशेष गरी मधेस प्रदेशका पालिकाहरूमा कायम निमित्तहरू निमिट्यान्न पार्ने र संघमा लामो समय बसेका कर्मचारीलाई उपत्यकाबाहिर पठाउने क्रम शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्री अमनलाल मोदीले मधेस प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएको दाबी गरेका छन् । ‘आजको सरुवासँगै मधेस प्रदेश अब निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ’ मन्त्री मोदीले भने ।

कानुनतः प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाका कर्मचारी हुनुपर्नेमा मधेस प्रदेशका विभिन्न स्थानीय तहमा कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायत जसले सक्यो उसैले खायो शैलीमा प्रशासकीय अधिकृत बन्दै आएका थिए । उपसचिवको दरबन्दी हुने नगरपालिकामा शाखा अधिकृत मात्रै होइन, नायब सुब्बासम्मैले रजगज चलाई रहेका थिए ।