काठमाडौँ – राजसंस्था पक्षधरहरूले भोलिको आन्दोलन दरबारमार्गमा केन्द्रित गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणाको आदेश जारी गरेका हुन्।
उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्था पक्षधरहरूले बिहीबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्। पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरूले आज माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।
उनीहरूले तेस्रो दिनको आन्दोलनका कार्यक्रम दरबारमार्गमा हुने घोषणा गरेका थिए। तर आन्दोलनको अघिल्लो दिन प्रशासनले दरबारमार्ग आसपास निषेधित क्षेत्र घोषणा गरेको हो।



लाल्टिन खबर 







