images
images

माओवादी नेता भन्छन् : सरकारले थालेका जनप्रिय कामको समर्थन छ

काठमाडौं, १८ श्रावण । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेका छन्।

सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल ‘स्प्रिट’को समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनःनिर्माणका पक्षमा आ–आफ्ना सुझाव प्रस्तुत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सहभागीले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनःनिर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । सदस्यले पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिङ्गो पार्टी एकताबद्ध सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राखेको उनले बताए।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवं प्रवक्ता महरासहित ५६ जनाले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राखेका थिए।

सो क्रममा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानन्त्री श्रेष्ठले अध्यक्षले प्रस्तुत गर्नुभएको प्रस्ताव समसामयिक रहेकाले सोको कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए। उक्त प्रस्तावमाथि आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उनले पार्टीलाई रुपान्तरण गरेर जानुपर्ने बताए। रासस