images
images

मास्टर्स डिग्री पढेकालाई मात्रै रास्वपाले केन्द्रीय विभागमा राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।

बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यस्तै प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता तोकेको छ।

‘केन्द्रको विभागको प्रमुख र सदस्य हुन मास्टर्स डिग्री पढेको अथवा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण उपलब्धी हासिल गरेको हुनुपर्ने छ,’ केन्द्रीय समितिको निर्णयबारे जानकारी गराउँदै पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सेतोपाटीसँग भने, ‘प्रदेशको विभागको प्रमुख हुन पनि त्यही योग्यता तय गरिएको छ।’

पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ। पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय भएको ढकालले बताए।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्यलाई गाउँगाउँमा अन्तर्क्रिया गर्न पठाउने निर्णय गरेको छ।