images
images
images

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौँ, जेठ १९ – पोखरा पर्यटन परिषद्ले पर्यटक सवारी साधनहरूलाई निर्वाध रूपमा सञ्चालन गराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।​

परिषद्का अध्यक्ष तारानाथ पहारीले आज विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरूको सञ्चालनका क्रममा भएको अवरोधहरूप्रति ध्यानाकर्षण गराउँदै बन्द हड्तालमा पनि पर्यटक सवारीसाधनहरूलाई निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति र सबै पक्षसँग आग्रह गरेको हो ।

यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढ्ने भन्दै विज्ञप्तिमा पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधारमध्ये एक भएको र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरूको साझा दायित्व भएको भनिएको छ ।

बन्द नै समाधान नभएको भन्दै परिषद्ले सबै सरोकारवाला निकायहरू प्रति गम्भीर ध्यानाकर्षणसहित शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।