images
images

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन – यातायात मन्त्री दाहाल

काठमाडौं,  २० जेठ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थीत गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।

उनले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनको भनाई छ। मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरु राख्दै जिम्मेवार भएर अघि बढ्न यातायात व्यवसायीलाई आग्रह समेत गरे ।

बैठकमा समिति सदस्यहरुले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरि कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई व्युताउने गरि भएको भन्दै आपत्ति जनाए । राइड सेयरिङका विषयमा गण्डकी प्रदेशले गरेको निर्णय सहि भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्बन गर्नुपर्ने उनले बताए ।

त्यस्तै समिति सदस्य माधव सापकोटाले यातायात व्यवसायीसँग भएको सम्झौताप्रति अन्यौल देखिएकाले सरकारले प्रष्टता साथ सहमतिको जानकारी गराउनुपर्ने बताए। त्यस्तै समिति सदस्य दयालबहादुर शाहीले यातायात व्यवसायीको सरकार डराउन नहुने भन्दै नाजायज माग सम्बोधन गर्न नहुने बताए।
त्यस्तै अन्य समिति सदस्यहरुले यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गर्दा सर्वसाधारणलाई सास्ती भएकाले छिटो निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।