images
images

आन्दोलनको नयाँ रणनीति बनाउन राजावादीको बैठक बस्दै

काठमाडौं, २१ जेठ – राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ । पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

 

समितिका संयोजक नवराज सुवेदीले नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए । सो बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए। उनका अनुसार सो बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् । गत चैत १५ गतेबाट सुरु भएको आन्दोलनले हिजो एक साता पार गरेको छ । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । तर, सरकारले काठमाडौंका तीन स्थान बाहेक सबैतिर निषेधाज्ञा जारी भएपछि आन्दोलनलाई कसरी निरन्तरता दिने भन्नेमा राजावादी मोर्चा स्पष्ट भइसकेको छैन। यसै विषयमा आज बैठक बोलाइएको हो ।

संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल आन्दोलनको स्वरूप र शैली फेरिने बताउँछन् । अहिलेसम्म भद्र र शान्तिपूर्ण आन्दोलन गरिएकोमा सरकारले झनै अधिनायक शैली प्रदर्शन गरेपछि आफूहरूले पनि समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘हाम्रो आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन गर्‍यो,’ उनले भने, ‘तर, सरकारले तोकिदिएको तीन ठाउँमा मात्रै आन्दोलन सीमित हुँदैन । यस्तो निषेधाज्ञा हामीलाई मञ्जुर छैन ।’

 

 

धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा आज २ बजे बस्ने बैठकमा ४४ वटै राजावादी घटकहरूको सहभागिता रहने भएको छ । राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनबाट बाहिरिएको भनेर गरिएको प्रचारबाजीलाई नेपालले खण्डन गरेका छन् । उनले भने, ‘बाहिर अनर्गल प्रचारहरू भइरहेका छन् । मैले नबोलेका कुराहरूसमेत समाचार बनाइयो । राप्रपा आन्दोलनको अग्र मोर्चामै । आजको बैठकमा राप्रपाको सहभागिता हुन्छ ।’