images
images

गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले

काठमाडौँ– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनैपनि हालतमा पूरा हुन नसक्ने बताएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीले सार्वजनिक रुपमा उठेका प्रश्नहरूको संसद्‌मा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरूले अवसर नदिएको भन्दै आपत्ति जनाए।

 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गरे।

संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उनको भनाइ छ। बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरू पछि हटेर संसद्‌को गतिरोध खुलाउन भुमिका खेल्नुपर्ने बताए।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।