काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा विवादमा छानबिन समिति बनाउन सरकार तयार भए संसद् चल्न दिने बताएका छन्। उनले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताएका हुन्।

बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षीले उठाएको मुद्दा गृहमन्त्रीको राजीनामा सुशासनको विषय भएको उनको भनाइ छ। उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीको विषयमा सरकारले संसद्मा जवाफ दिएर छानबिन समिति बनाउन तयार भए संसद्को कारबाही अघि बढाउन प्रतिपक्षी तयार रहेको स्पष्ट पारे।
पाण्डेले भने, ‘संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र मुद्दा चलाइरहेको विषय भिजिट भिसा प्रकरणसँग मेल खाँदैन। यसमा त आम जनताले के के भोगिरहेको छ भन्ने कुरा हेर्ने होला नि। यो मूलतः सुशासनको विषय हो।’
त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत केही कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको छ। यस मुद्दालाई लिएर विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।









