हुम्ला, २२ जेठ – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।
वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।
पर्यटकका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न सक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ ।

हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदल मार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटर प्रुफ ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।
नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपहल बढ्न सकेको छैन । रासस










