काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए।
उनले नेपालको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर घ्यू भात खानेहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने। विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो। यसरी नेपालीलाई ऋण बोकाएर घ्यू भात खाने को–को हुन्? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ। गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भूटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ। भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ।’










