images
images

बकर ईद बाँकेमा धुमधामका साथ मनाइँदै

नेपालगन्ज ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व ईद–उल–अजहा (बकर ईद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।

आज बिहान स्थानीय ईदगाहमा बकर ईदको सामूहिक नमाज पढेर सुरु भएको पर्व तीन दिनसम्म खसी, भेडा र राँगा हलाल गरेर कुरबानी गरी तेस्रो दिन समापन गरिने परम्परा रहेको छ ।

ईस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको अन्य पर्वभन्दा विशेष महत्त्व छ ।

ईदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, शान्ति, अमनचैन तथा आर्थिक विकासको कामना गर्दै विशेष दुआ मागिएको थियो ।

सो अवसरमा शुभकामना साटासाटका लागि बिपी चोकस्थित स्थानीय ईदगाहमा सर्वोच्च अदालतका न्यायधिश अब्दुल अजिज मुसलमान, पूर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरु समेत पुग्नु भएको थियो ।

सो अवसरमा पूर्वमन्त्री राईले सदभाव र आपसी भाइचाराको पर्वलाई सबैले मिलेर मनाउन पाउँदा गर्व लागेको बताए ।

बकर ईदमा कुर्वानी (पशुबली) दिने चलन भएकाले कुरबानी गराउने आर्थिक रुपमा क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा वा राँँगा जस्ता जानवरको कुरबानी गराउनु पर्ने धर्मगुरुहरुको भनाइ छ ।

मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धन सम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकर ईदमा कुरबानी गराउनु पर्ने धार्मिक नियम रहेको धर्म गुरुहरुको भनाइ छ ।