images
images
images

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा वृद्धि

अमेरिका – संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको संकेतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ ।

डाउ जोन्स औद्योगिक सूचकांक ४४३.१३ अंकले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकांक ६१.०६ अंकले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकांक पनि २३१.५० अंकले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।

रोजगारी प्रतिवेदनले आशा देखायो
अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको संकेत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैंकअफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्यांकहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले संघीय रिजर्भ बैंक तत्काल ब्याजदर कटौती नगरी  मूल्यांकन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ ।

आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक
डोयच बैंकका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ ।