काठमाडौं -राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) ले सातवटै प्रदेशमा एक-एकवटा प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्य रहेको र सोहि सन्दर्भमा सुदूर पश्चिम प्रदेशमा प्रशिक्षण केन्द्र स्थापना गर्ने दीर्घकालीन योजनाअन्तर्गत आवश्यक जग्गा प्राप्ति, केन्द्रको पूर्वाधार विकास, तालिम सञ्चालन र रोजगारीमुखी तालिम कार्यक्रमहरू कार्यान्वयन गर्ने विषयमा सुदूर पश्चिम प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।
यसै सन्दर्भमा, मिति २०८२ साल जेठ २४ गतेका दिन सुदूर पश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाहज्यूसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव श्री कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक श्री रमेश कुमार बखती, उपसचिव श्री डम्बर सुनुवार, शाखा अधिकृत श्री युवराज आचार्य सहितको टिमले एक महत्वपूर्ण छलफल सम्पन्न गर्यो । उक्त छलफलमा निम्न बुँदाहरूमा विशेष ध्यान केन्द्रित गरिएको थियो:
1. प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक जग्गा प्राप्तिमा प्रदेश सरकारको सहयोग – सुदूर पश्चिम प्रदेशका युवा लक्षित तालिम केन्द्र स्थापना गर्न उपयुक्त स्थानमा प्रदेश सरकारद्वारा जग्गा व्यवस्था गरिने सम्भावनाबारे छलफल गरियो।
2. तालिम कार्यक्रमहरू आन्तरिक रोजगार अभिमुखी बनाउने आवश्यकता – प्रदेश भित्र रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगारीको अवसर सृजना गर्न सक्ने, बजारको माग अनुसारका तालिम कार्यक्रमहरू विकास तथा कार्यान्वयनमा जोड दिने बिषयमा पनि छलफल गरियो।
3. तालिम कार्यक्रमहरूमा प्राथमिकता निर्धारण – कृषि, पर्यटन, लघु उद्यम, निर्माण, ऊर्जा, सेवा क्षेत्र तथा अन्य सम्भावनायुक्त क्षेत्रमा आधारित सीप विकास तालिमलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने विषयमा समझदारी कायम गरियो।
4. संघीय र प्रदेश सरकारबीचको सहकार्यको महत्व – संघीय तहको प्रतिष्ठान (NAVT) र प्रदेश सरकारबीच नीति, कार्यक्रम र बजेटको समन्वय गर्दै दीगो परिणाममुखी तालिम कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने बिषयमा छलफल गरियो।
उक्त छलफल अत्यन्तै सकारात्मक एवं भविष्यदृष्टि सहितको रह्यो। यसले सुदूर पश्चिम प्रदेशका युवाहरूलाई सीपयुक्त बनाउँदै स्वदेशमै अवसर सिर्जना गर्ने रणनीतिमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिइएको छ।








