काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।
जेठ १७ देखि २५ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संचालित प्रतियोगिताले भारत र नेपालबीचको खेलकुद सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेट क्षेत्र र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने गरी कुल छ टोलीको उत्साहजनक सहभागिता रहेको थियो।
उद्घाटन समारोह जेठ १७ गते नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) को उपस्थितिमा सम्पन्न भएको थियो।
एक हप्ता लामो मैत्रीपूर्ण र प्रतिस्पर्धात्मक खेलपछि जेठ २५ गते एक रोमाञ्चक फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको हो । फाइनलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा गरेको थियो। फाइनलपछि आयोजित ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, र नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारीको उपस्थिति रहेको थियो।
सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो।
प्रतियोगिता सफलताको उत्सव मनाउन आइतबार साँझ एक रिसेप्सन कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, विभिन्न देशका राजदूतहरू, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको उपस्थिति थियो। सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छ वटै टोलीका सदस्यहरूको पनि उपस्थिति थियो ।
भारतीय राजदूत श्रीवास्तवले खेलकुदको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यले तीनजना यू–१९ नेपाली क्रिकेटरहरूलाई क्रिकेट किटहरू हस्तान्तरण गरे । सोही कार्यक्रममा भारतीय राजदूतावास, काठमाडौंले “नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप” को सुरुवातको पनि घोषणा गर्यो। यस फेलोशिप अन्तर्गत नेपालबाट दुईजना युवा क्रिकेटरहरूलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरूमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार यो पहल क्रिकेटप्रतिको साझा प्रेम मार्फत नेपालमा युवा विकासलाई सहयोग गर्ने र दुई देशका जनताबीचको बलियो सम्बन्धलाई प्रवर्द्धन गर्ने भारतको निरन्तर प्रतिबद्धताको अंश हो । भारत नेपालमा क्रिकेटको विकासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।












