images
images

ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको भन्दै सत्तारुढ एमालेकै सांसदले गरे विरोध

काठमाडौँ- मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेकोमा आपत्ति जनाएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिदै सांसद दासले योजना तथा कार्यक्रम प्रभावकारी ढंगले नगर्नु सरकारको गम्भीर कमजोरी रहेको औँल्याएका छन् ।

उनले भने, ‘अहिले बजेटको समय छ । बाहिरका ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको छ । यो बजारमा हल्ला छ । मेरो निवेदन छ, सरकारले यस्तो बदनामी नगर्नुस् ।’

सांसद दासले योजना तथा कार्यक्रमको छनोट जनप्रतिनिधि मार्फत गर्न सरकारलाई सुझाएका छन् ।

समयमा पुँजीगत खर्च नहुने गरेको बताउँदै उनले भने, ‘बजेट प्रस्तुत भइसकेपछि साउनदेखि काम गर्ने कुरा लेख्छौँ, तर जेठदेखि बल्ल चिठ्ठी काट्न सुरु हुने गरेको छ । यसमा सुधार गरौँ ।’