काठमाडौँ – अध्यागमन विभागमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक्सन लिएको छ।
भिजिट भिषा प्रकरणमा अख्तियारले अध्यागन विभागका कर्मचारीमाथि छानबिन गरिरहेको अवस्थामा प्रधानमन्त्री कार्यालयले बढी कर्मचारी खटाएको भन्दै गृहमन्त्रालयलाई फिर्ता गर्न कारबाहीको चेतावनीसहितको पत्र पठाएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द कार्कीले पाँच दिनअघि नै गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएका हुन्।
७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका कर्मचारीको विवरण उपलब्ध गराउन भनिएको छ।
दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिइएको स्रोतले भन्यो। पत्रमा लेखिएको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण यथाशीघ्र उपलब्ध गराउन र ७ (सात) दिन भित्र अनिवार्य रूपमा दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन गरी गराई सोको जानकारी यस कार्यालयमासमेत उपलब्ध गराउन अनुरोध गर्दछु।’
अख्तियारले छानबिनका क्रममा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएपछि उसले पनि गृह र सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराएको हो।









