काठमाडौं, २७ जेठ – आज (मंगलबारबाट) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाउँदैछन् । ५ वर्ष सचिव चलाएर सापकोटा कानुन सचिवबाट बिदा हुन लागेका हुन् ।
२०७७ जेठ २८ गते नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका बानेश्वरका सापकोटा प्रभावशाली कर्मचारी हुन्। कानुन मन्त्रालयको सचिवमा ‘ह्याट्रिक’ हानेका सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा समेत काम गरिसकेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र कानुन मन्त्रालयको सचिव हुँदा सापकोटाले द्वन्द्वकालीन विवाद निरूपणमा महत्त्वपूर्ण योगदान दिएका थिए । टिआरसी गठन गर्न उनको विशेष भूमिका रहेको कानुन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सर्वोच्च अदालतको न्यायाधीश बन्ने ख्वाक राख्ने सचिव सापकोटालाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार बनाउने चर्चा पनि सेलाएको छैन । न्याय सेवा आयोगले सापकोटाले आजै मुख्य रजिष्ट्रार बनायो भने न्यायालयको प्रशासन पनि चलाउन पाउनेछन् ।
काबिल सचिव सापकोटा मुख्य रजिष्ट्रार बने भने उनी कानुन समूहबाट पहिलो मुख्य रजिष्ट्रार बन्नेछन् । सरकारी वकिल समूहबाट राजन भट्टराई मुख्य रजिष्ट्रार बनिसकाले अब कानुन समूहबाट मात्र मुख्य रजिष्ट्रार बन्न बाँकी छ । त्यसका लागि सापकोटालाई उपयुक्त पात्रका रूपमा हेरिएको छ । मुख्य रजिष्ट्रार देवेन्द्र ढकालमाथि न्यायिक टिप्पणी भएकाले उनको ठाउँमा सापकोटालाई लाने सम्भावना रहेको स्रोतले बतायो । सचिव सापकोटा मुख्य रजिष्ट्रार बनेनन् भने आजैबाट घर जानेछन् । उनका लागि संवैधानिक नियुक्ति, न्यायाधीश वा अन्य नियुक्तिको बाटो भने खुला रहनेछ ।








