काठमाडौँ, २७ जेठ – चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो ।

वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् ।

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो । वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।











