images
images

पार्टी बनाउन प्रत्येक घरघरमा जाने माओवादी निर्णय

काठमाडौँ – माओवादी केन्द्रले पार्टी निर्माणका लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ

पाँचदेखि चलेको केन्द्रीय कमिटीको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १६ गतेदेखि तीन महिना पार्टी सुदृढीकरणका लागि अभियान चलाउने प्रस्ताव गरेका हुन्।

भदौ १५ गतेसम्म तयारी गरेर १६ गतेदेखि पार्टी बनाउन प्रत्येक वडामा जाने अध्यक्षको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो।

अध्यक्ष दाहालले पार्टी निर्माणका लागि प्रत्येक घरघरमा पुग्न केन्द्रीय सदस्य तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। बैठक समापन गर्दै दाहालले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ पनि प्रत्येक घरमा जानुहोस्। गएकै हुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ। तीन महिनामा कुनै पनि घर नछुटाउनुहोला।’

दाहालले माओवादीमा जनतालाई आकर्षित गर्न अरु दलका नेता कार्यकर्ताको घरमा समेत जान निर्देशन दिए।

उनले भने, ‘तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्।’ उनले पार्टी बनाउनका लागि आफू पनि वडामा जाने कोसिस गर्ने प्रतिबद्धता जनाए।

पार्टी निर्माणका लागि भन्दै माओवादीले प्रदेश इञ्चार्जहरुको जिम्मेवारी हेरफर गरेको छ। केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार कोशी प्रदेशको इञ्चार्जको जिम्मेवारी बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ।

गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई इञ्चार्ज तोकिएको छ।