बागमती, २९ जेठ – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।


उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकुल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।









