काठमाडौं, २८ जेठ – भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ । अहमदावादबाट लन्डनका लागि उडान भरेको २४२ जना यात्रु सवार एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त बनेको हो ।
उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको थियो । तर त्यसपछि एयर ट्राफिक कन्ट्रोलसँग कुनै सम्पर्क हुन सकेन । विमानमा कुल २ सय ४२ जना सवार थिए, जसमा २ जना पाइलट र १० जना केबिन क्रू सदस्य रहेका थिए । प्रारम्भिक जानकारीअनुसार, क्याप्टेनसँग ८ हजार २०० घण्टाको उडान अनुभव थियो भने सह–पाइलटसँग १ हजार १०० घण्टाको उडान अनुभव थियो ।

एअर इन्डियाका अनुसार विमानमा ५३ जना बेलायती नागरिक सवार थिए । यस्तै १६९ भारतीय नागरिक थिए । विमानमा १ जना क्यानडाका र सात जना पोर्चुगलका नागरिक थिए । अहिले उद्धार कार्य तीव्र गतिमा चलिरहेको छ । एम्बुलेन्सहरू चारैतिर पुगेका छन् । आपतकालीन उद्धार टोलीहरू अहिले पनि आगो निभाउने प्रयासमा व्यस्त छन् ।










