काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्नँ भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति पछि अध्यक्ष सिंहले यस्तो बताएका हुन्।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए।

अध्यक्ष सिंहले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महत ज्युले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा भन्नु भयो। सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सक्दैन। यो कुरा स्वीकार गर्नु भएको छ। तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिनँ भन्न मिल्दैन।  यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सनु हुन्न । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो।’

सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ।

अध्यक्ष सिंहले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई खारेज गर्न माग गरे।

उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने पनि बताए।

निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवासायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने उनकाे भनाइ छ।